काठमाडौं, ८ माघ । नेपाल प्रहरीले नेपाल टी–२० क्रिकेट खेलमा ‘म्याच फिक्सिङ’ भएको पुष्टि गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को व्यापारिक र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसकै संलग्नतामा ‘स्पट फिक्सिङ’ भएको प्रहरीले बताएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले लिगको सुरुवाती चरणका खेलमा ‘स्पट फिक्सिङ’ भएको भन्दै अनुसन्धान गरेको थियो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ९ देखि २७ पुससम्म भएको खेलमा स्पट फिक्सिङ भएको अनुसन्धानको निष्कर्ष छ ।

नेपाल टी– २० क्रिकेटका केही खेलमा नेपाली र भारतीय खेलाडीसँग लेनदेन गरेको अनुसन्धानबाट देखिएको सिआइबीका प्रमुख उत्तमराज सुवेदीले बताए । बेटिङ (सट्टेबाजी) असूली गर्ने उद्देश्यले ‘म्याच फिक्सिङ’ गराउने प्रयास भएको उनको भनाइ छ ।

केही खेलाडी र खेलमा सहभागीले म्याच फिक्सिङका लागि प्रस्ताव आएको बताएपछि गृहमन्त्री रवि लामिछानेले यस घटनाको छानविन गर्न निर्देशन दिएका थिए ।

सिआइबीले प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।