काठमाडौं, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीलाई दिइने मन्त्रालयको विषयमा सोमबार मात्र टुङ्गो लाग्ने भएको छ ।

जनमतको भागबण्डामा खानेपानी मन्त्रालय परेपछि असन्तुष्ट हुँदा प्रधानमन्त्री प्रचण्डले आइतबारसम्म त्यसको टुङ्गो लगाउने भनिएको थियो । तर, अब त्यो भाका सोमबारलाई सरेको छ ।

जनमत पार्टीका प्रवक्ता समेत रहेका खानेपानी मन्त्री अब्दुल खानले मन्त्रालयको विषयमा सोमबार मात्र टुङ्गो लगाउने कुराकानी भएको बताए । उनले आइतबार बिदा भएको कारण त्यसमा खासै कुराकानी हुन नसक्ने भएकाले सोमबार मन्त्रालयको टुङ्गो लगाउने भनी कुरा भएको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच कुराकानी हुनसक्छ । तर, त्यसको विषयमा अझै टुङ्गो लागेको छैन भन्दै सत्ताधारी दलका अध्यक्षहरूबीच आइतबार बालुवाटारमा छलफल हुने भनिएको छ । त्यहाँ पनि जनमत पार्टीलाई दिइने मन्त्रालयको विषयमा कुराकानी हुनसक्ने सम्भावना रहेको उनले बताए ।