काठमाडौं, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुर्खेतको झुप्राखोलामा भएको सवारी दुर्घटनामा परी यात्रुको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल ट्विटरमार्फत दुर्घटनामा परी निधन भएका यात्रुप्रति श्रद्धासमुन प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।

छिन्चुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको गाडी वीरेन्द्रनगर–११ झुप्राखोलामा दुर्घटना भई आइतबार चारजनाको मृत्यु भएको थियो ।प्रधानमन्त्री दाहालले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । घाइतेको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार बिहान भएको दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ दैलेख निवासी ३३ वर्षीय दीपेन्द्रजङ्ग शाही, भगवतीमाई गाउँपालिका–५ दैलेख निवासी ३१ वर्षीय बबिन शाही, दैलेख गुराँस गाउँपालिका–३ निवासी ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको छ । उनीहरूको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बाप्र०१०२६च ९२१३ नंको उक्त गाडी आइतबार बिहान साढे २ बजे अनियन्त्रित भई सडकबाट ८० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी भैरवी गाउँपालिका–५ दैलेखका २५ वर्षीय वीरेन्द्रराज शाही गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।