जनकपुरधाम, ८ माघ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको वृहत व्यापारिक मेला “जनकपुरधाम व्यापार मेला २०७९” आयोजना गर्न लागिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी तथा प्रतिष्ठानहरूलाई एउटै छानामुनि सहभागि गराई अनुभव आदान प्रदान तथा व्यापारको नयाँ आयाम एवं सम्भाव्यता सिर्जना हुने आशाका साथ व्यापारिक मेलाको आयोजना गर्न लागिएको हो ।

मेलामा स्वदेशी तथा स्थानिय उत्पादनलाई प्रवर्द्धन गर्ने प्रमुख उद्देश्य लगायत सार्क राष्ट्रहरू भारत, पाकिस्तान र बंगलादेशका विभिन्न क्षेत्रका व्यापारीहरूको पनि सहभागिता रहने आयोजक जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।

औद्योगिक अवसरहरूको सम्भावित अध्ययन तथा क्षेत्रीय स्तरमा लगानी गरी विदेशबाट आउने व्यापारी तथा उद्योगीहरूलाई प्रोत्साहित गरी स्थानिय तथा अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्धमा विस्तारका लागि सहकार्य गरिने अध्यक्ष महासेठले बताए । उनले यस वृहत्त मेलाले पर्यटन विकासमा समेत टेवा पुर्याउने विश्वाससमेत व्यक्त गरेका छन् ।

आगामी फागुन ५ देखी १४ गतेसम्म जनकपुरधामस्थित तिरहुतिया गाछी परिसरमा आयोजना हुने जनकपुरधाम व्यापार मेलामा १५० भन्दा बढि स्टलहरू रहनेछ । उक्त मेलामा १ लाख भन्दा बढी अवलोकनकर्ताको आगमन हुने अपेक्षा गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव मनोज कुमार साहले बताए ।

कार्यक्रमको मुख्य आयोजक जनकपुरधाम उद्योग वाणिज्य संघ तथा सह–आयोजक सिया इभेन्टस रहेको छ । जनकपुरधाम व्यापार मेलामा पाईने विषेश सामानहरूमा अटोमोबाईल्स, गार्मेन्टस, कन्स्ट्रकसन बैंक, होम सप्लायर्स, हेल्थ एण्ड फिटनेश, छालाजन्य उत्पादन, किचेनवेयर तथा यस क्षेत्रका स्थानिय तथा नविनतम उत्पादनहरू रहने बताइएको छ ।