मधेसका मुख्यमन्त्री यादवलाई मन्त्रीपरिषद् विस्तार गर्न सकस

जनकपुरधाम, ८ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मन्त्रीपरिषद् विस्तार गर्न सकस भइरहेको छ । सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रीमण्डल बिस्तार हुन नसकेको हो ।
पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका यादवसँगै अन्य तीनजना मन्त्रीहरुले पुस २९ गते नै शपथ ग्रहण गरे । सत्तारुढ दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति नजुटेपछि नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टी नेपालका संजय यादव र जनमत पार्टीका बसन्त कुशवाहालाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी तोकेर मुख्यमन्त्री यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रसँग पद तथा गोपनीयताको शपथ लिएका थिए । तीनैजना मन्त्रीहरुले बिनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए ।
शपथ ग्रहण गरेकै दिन मुख्यमन्त्री यादवले अब विश्वासको मत लिएलगत्तै मन्त्रीपरिषद्लाई पूर्णता दिने भनेका थिए । माघ ४ गते बुधबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत पनि दिए । मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उनले विश्वासको मत पाएका थिए ।
यादवले प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरे भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दियो ।
पुस २७ गते प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई नेपाली कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गरेको थिएन । पछि लोसपाका ९ जना प्रदेशसभा सदस्यले पनि समर्थन दिंदा उनले ७२ सांसदको समर्थन पाएका थिए ।
तर, मुख्यमन्त्री यादवले विश्वासको मत पाएको ४ दिन बित्दासमेत मन्त्रीपरिषद्ले पूर्णता पाउने छाँटकाँट पनि अहिलेसम्म देखिएको छैन ।
यता, मन्त्रीपरिषद् विस्तारको गृहकार्यमा जुटेका सत्ता साझेदार दलबीच अहिलेसम्म कुन पार्टीले कुन मन्त्रालय पाउनेमै स्पस्ट सहमति जुट्न नसक्दा पूर्णता दिन नसकिएको दलहरुले बताइरहेका छन् ।
केन्द्रसँगै प्रदेशका समेत मन्त्रालयको भागवण्डा लगाउनेगरी प्याकेजसमै सहमति जुटाउने प्रयास भएपनि दलहरुबीच ठोस सहमति हुन बाँकी छ ।
मुख्यमन्त्री यादवले तत्कालै सरकार विस्तार गर्ने बताएपनि गठबन्धनमा कुरा नमिल्दा सरकार विस्तारको काम पर धकेलिएको हो ।यादवले विश्वासको मत पाएपछि मन्त्रीपरिषद् विस्तार हुने अनुमान गरिएको भएपनि अहिलेसम्म विस्तार हुन सकेको छैन् । मुख्यमन्त्री यादवले अहिले मुख्यमन्त्रीसहित १० वटै मन्त्रालय आफुसँगै राखेका छन् ।
मधेस प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल भएका कारणले ३ मन्त्रालयको माग गरेको छ भने अन्य दलहरुले पनि मन्त्रालयका लागि आ–आफ्नो अडान कायम राखेको स्रोतको दाबी छ ।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सत्ता गठबन्धनका दलहरुले मन्त्रालयको माग बढी गरेका कारणले मन्त्रीमण्डल विस्तार हुन ढिलो भएको हो ।
मुख्यमन्त्री यादवलाई अहिले नेकपा एमालेका २४, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ तथा पाँचजना स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित १०२ प्रदेश सांसदको समर्थन छ ।
मुख्यमन्त्री यादवले माघ ४ गते नै सभामुख र उपसभामुखको शपथ ग्रहण कार्यक्रममा आगामी दुई/तीन दिन भित्रमा मन्त्रिपरिषद विस्तार गर्ने बताएका थिए । सञ्चारकर्मीहरुको प्रश्नमा उनले आफूले विश्वासको मत लिएपछि आगामी दुई/तीन दिनमा मन्त्रीपरिषद् विस्तार गर्ने बताएका थिए ।
उनले सबैदलसँग विश्वासको मत लिएकाले सरकारमा सहभागी हुन चाहने सबै दललाई मन्त्रीपरिषद्मा सामिल गराउने बताएका थिए ।यता, मन्त्रीहरु सरोज यादव, संजय यादव र बसन्त कुशवाहालाई अहिलेसम्म मन्त्रालयको जिम्मेवारी तोकिएको छैन् । मुख्यमन्त्री यादवले विश्वासको मत लिएपछि मात्र मन्त्रीपरिषद् विस्तार गर्ने र नवनियुक्त मन्त्रीहरुलाई पनि मन्त्रालयको जिम्मेवारी तोकिने बताइएको थियो ।
यता, नवनियुक्त मन्त्रीहरुले मन्त्रालयको जिम्मेवारी नपाएपनि शपथ ग्रहण गरेसँगै मन्त्री क्वाटरमा सरेका छन् । मन्त्रीहरु सरोजकुमार यादव, बसन्त कुशवाहा र संजय यादव भने क्वाटरमा गइसकेका छन् ।
मन्त्रीद्वय सरोज भौतिक पूर्वाधार तथा विकास मन्त्रालय र बसन्त कुशवाहा सामाजिक विकास मन्त्रालयको मन्त्रीले पाउने सरकारी क्वाटरमा सरेका छन् भने मन्त्री संजय यादव अर्थमन्त्रीले पाउने सरकारी क्वाटरमा सरेका छन् । उनीहरुलाई बधाई दिन नेता कार्यकर्ता तथा शुभेच्छुकहरु क्वाटरमै पुग्ने गरेका छन् ।
यी मन्त्रीहरुलाई कुन मन्त्रालय दिनेबारे अहलेसम्म कुनै सहमति भएको छैन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


