शिक्षामा सुधार भए समाजको चौतर्फि विकास हुन्छ : सभामुख मण्डल

जनकपुरधाम, ७ माघ । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलको गृहनगरमा खुशियाली देखिएको छ ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ (ख)बाट प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित मण्डल प्रदेशसभाको सभामुखमा निर्वाचित भएपछि उनको गृहनगर मिथिला बिहारी नगरपालिकामा खुशियाली देखिएको हो ।
मण्डल सभामुखमा निर्वाचित भएको खुशियालीमा उनको गृहनगरका विभिन्न वडामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।
सभामुख मण्डलको गृहनगर मिथिला विहारी नगरपालिकाको वडा नम्बर–१ भूतही पटेर्वा, वडा नम्बर–३ कजरा रमौल, वडा नम्बर–४, मिथिलेश्वर मौवाही र वडा नम्बर–५ ललियालगायतका स्थानमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।
गृहनगर पुगेका सभामुख मण्डललाई विभिन्न स्थानमा स्थानीयले फूलमाला लगाएर स्वागत गरेका थिए ।
सो क्रममा यहाँको शिक्षा स्वास्थ्यको अवस्था निकै कमजोर रहेको भन्दै सभामुख मण्डलसँग स्थानीयले गुनासो गरेका थिए । सो भेगको शिक्षा स्वास्थ्यमा सुधारका लागि पहल गरिदिन उनीहरुले सभामुख मण्डलसँग आग्रह गरेका थिए ।
सभामुख मण्डलले प्रदेशको विकासका लागि भौतिक संरचनाहरु निर्माण भइरहेको र सोको संरक्षणका लागि स्थानीयले नै पहल गर्नुपर्नेमा जोड दिए । उनले आ–आफ्नो बालबालिकालाई शिक्षाबाट बञ्चित नगर्न आग्रह गरे ।
शिक्षा क्षेत्रमा सुधार भए मात्र समाजको चौतर्फि विकास हुने सभामुख मण्डलको भनाइ थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


