काठमाडौं, ७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइतबीच शनिबार भेटवार्ता भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले तिलगंगा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।

डा. रुइतले तिलगंगा आँखा केन्द्रलाई विश्वविद्यालयका रुपमा विकास गर्न सरकारलाई आग्रह गरेका थिए । प्रधानमन्त्रीले पनि डा. रुइतको चाहना अनुसार विश्वविद्यालय बनाउन सहयोग गर्ने बताएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

डा. रुइतले हालैमात्र बहराइन सरकारले प्रदान गर्ने इसा अवार्ड पाएका थिए । प्रधानमन्त्री प्रचण्डले यो सम्मानले नेपालको शीर उँचो राखेको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक सबै सहयोग गर्नेसमेत प्रतिवद्धता व्यक्त गरेका उनको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा डा. रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागिसमेत नेपालमा नै औषधी उत्पादन गर्न सक्ने सम्भावना रहेको बताए ।