लक्ष्मी महतो प्रकरणमा छिट्टै रिजल्ट आउने गृहमन्त्री लामिछानेको दाबी

काठमाडौं, ७ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले लक्ष्मी महतो कोइरी प्रकरणमा छिट्टै रिजल्ट आउने दाबी गरेका छन् ।
मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका छन् ।
उनलाई पक्राउ गर्नुपर्ने आवाज संसदमै उठेपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेले पक्राउ गरी कानुनी कारबाही अघि बढाउन निर्देशन दिएका थिए । तर उनी पक्राउ परेका छैनन्, बरु संसद बैठकमा नियमित जस्तो उपस्थित हुने गरेका छन् ।
यसबारे प्रश्न उठेपछि गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै गृहमन्त्रीले मौलक रुपमा दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै कोइरीलाई पक्राउ गरी कानुनी कारबाही गर्न लिखित निर्देशन दिएको बताएको थियो ।
शनिबार संसद बैठकमा पनि कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेकाले गृह मन्त्रालयले विज्ञप्ति निकाल्नुपरेको हो भन्दै प्रश्न गरेका थिए ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले यसमा छिट्टै रिजल्ट आउने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


