जनकपुरधाम, ७ माघ । नेपाल पिछडावर्ग (ओबिसी) महासंघको केन्द्रीय अध्यक्षमा महेन्द्र प्रसाद साह चयन भएका छन् ।

जनकपुरधाममा सम्पन्न दुईदिने विशेष महाधिवेशनबाट साहलाई महासंघको केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।

त्यस्तै, महासंघको उपाध्यक्षद्वयमा शशिकुमार महतो र गोपी चन्द्र साह, महासचिवमा बबिता देवी, सचिवद्वयमा रामबाबु साह र राजकुमार साह तथा कोषाध्यक्षमा उर्मिला महतो (नूनिया)लाई चयन गरिएको छ ।

महासंघको प्रवक्तामा रविन्द्र कुमार यादव र सदस्यहरुमा राजेश यादव तथा संजय प्रसाद साहलाई सर्वसम्मत चयन गरिएको हो ।

तत्काल १० सदस्यीय कार्यसमिति गठन गरि यसलाई पूर्णता दिन थप पाँचजना सदस्य चाँडै चयन गरिने बताइएको छ ।

यसअघि नेपाल पिछडावर्ग महासंघले अध्यक्ष गजेन्द्र ठाकुरलाई बहुमत सदस्यको बैठकबाट निलम्बन गरिसकेको छ ।

अध्यक्ष ठाकुरलाई निलम्बन गरेर बोलाइएको विशेष महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

ठाकुरले महासंघको निर्णय विपरीत गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा रौतहट क्षेत्र नं. १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई निलम्बन गरी बाध्य भएर विशेष अधिवेशन बोलाउनु परेको महासंघका केन्द्रीय अध्यक्ष साहले बताए । कुनै पनि राजनीतिक दलसँग आवद्ध नरहेको यो संस्थाको गरिमालाई ठेस पुग्ने गरी उनले काम गरेको साहको आरोप थियो ।

जनकपुरधाममा सम्पन्न विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले संस्थाको गरिमालाई बचाएर काम गर्ने महासचिव बबिता पूर्वेले बताइन् । उनले अबको नेतृत्व पिछडावर्गको हकहितमा केन्द्रित भएर काम गर्ने दाबीसमेत गरेकी छन् ।