महोत्तरीको झा दम्पती हत्याकाण्डमा २ वर्षपछि थप एकजना पक्राउ

जनकपुरधाम, ७ माघ । महोत्तरीमा झा दम्पतीको हत्या गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।
घटना भएको दुई वर्षपछि फरार रहेका पिपरा गाउँपालिका–५ बस्ने ७२ वर्षीय तेज नारायण झा नेपाल भारत सिमाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
झा घटनापश्चात् फरार भएर भारतको गोवाहाटी शहरमा पुजारीको काम गर्दै आएका थिए । उनी बेला बेलामा काकडभिट्टा नाका हुँदै आउजाउ गरिरहेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंज काठमाडौँको सहयोगमा उनलाई पक्राउ गरिएको हो ।
सिआईबीको सहयोगमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको टोलीले शुक्रबार झापाको मेचीनगर नगरपालिका–६ स्थित नेपाल भारत सिमानाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोष कुमार पोखरेलले जानकारी दिए । पक्राउ परेका झाले हत्यामा मतियारको भूमिका निर्वाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
२०७७ साल फागुन १० गते राति महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी छुट्टाछुट्टै ओछ्यानबाट ओछ्यानसहित बेपता भएका थिए । बेपता भएको एक महिनापछि चैत १२ गते पिपरा २ अतरार जानेबाटोमा झा दम्पतीको शव सडेगलेको अवस्थामा फेला परेको थियो ।
मुसाफिर झाका छोरा मनिष झाले कैलास झा, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भन्ने रजिन्द्र यादव र हरेन्द्र ठाकुर, तेज नारायण झा, तारा देवी झा, बिकास भन्ने बब्लु कुमार झा समेतले अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दरखास्त दिएका थिए ।
यसअघि प्रहरीले यस घटनामा ७ जनालाई नियन्त्रणमा लिएकोमा ३ जना कारागारमा रहेका छन् भने चारजना धरौटी दिएर रिहा भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


