काठमाडौं, ६ माघ । शनिबार हुने प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि दुईजनाले उम्मेदवारी दर्ता गराएकी छन् ।

सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा रानामगर र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराएकी हुन् ।

इन्दिरा रानामगरको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहेकी छन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नारायणी शर्मा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन रहेका छन् ।

त्यस्तै मुक्तको प्रस्तावकमा कांग्रेसका बद्री पाण्डे रहेका छन् भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन शनिबार दिउँसो १ बजे गर्ने गरी संघीय संसद् सचिवालयले बिहीबार निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गरेको थियो ।

सूचनाअनुसार प्रतिनिधिसभाका कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने समय बिहीबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म निर्धारण गरिएको थियो ।

निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिने छ । शनिबार प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने, उम्मेदवारीको सूचनामाथिको संक्षिप्त छलफल हुने तथा दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।