काठमाडौं, ६ माघ । सरकारसँग असन्तुष्ट रहेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीसँग प्रधानमन्त्री प्रचण्डले आइतबारसम्मको समय मागेका छन् ।

उद्योग मन्त्रालयमा सहमति भएर पछि खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै जनमत पार्टी सरकारसँग असन्तुष्ट बनेको छ ।

सुरुमा विनाविभागीय मन्त्री रहेका सो पार्टीका उपाध्यक्ष अब्दुल खानलाई माघ ३ गते मन्त्रीपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, असन्तुष्टि जनाउँदै खानले अहिलेसम्म पदभार ग्रहण गरेका छैनन् ।

जनमत पार्टीले थप एउटा मन्त्रालय दिएमात्र खानेपानी मन्त्रालय स्वीकार गर्न सकिने सन्देश प्रधानमन्त्री प्रचण्डलाई दिएको छ ।

जनमतको सन्देशपछि प्रधानमन्त्री प्रचण्डले आफूसँग रहेको वन तथा मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमध्ये एउटा जनमतलाई दिने परिस्थिति बन्न सक्ने आश्वासन दिएका छन् । बिहीबार साँझ पनि जनमतका अध्यक्ष डा. सीके राउत र प्रधानमन्त्री प्रचण्डको बीचमा मन्त्रालयको विषयमा छलफल भएको थियो ।

सो छलफलमा प्रधानमन्त्री प्रचण्डले आइतवारसम्मको लागि समय माग गरेका छन् । सरकारमा ल्याउनका लागि लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीको बीचमा कुराकानी भइरहेको र ती पार्टी सरकारमा सहभागी नभए थप एक मन्त्रालय दिने आश्वासन दिएको सो पार्टीका एक नेताले बताए ।

जनमत पार्टीको पहिलो चाहना उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नै भएको भन्दै ती नेताले सो मन्त्रालय पाए अर्को मन्त्रालय नचाहिने बताए । तर, खानेपानी मन्त्रालय मात्र भयो भने एउटा थप मन्त्रालयको चाहिने उनको भनाइ छ । खानेपानी मन्त्रालय मात्रै पाउने परिस्थिति बनेमा भने सरकारबाट बाहिरिने मनस्थितिमा जनमत छ ।