संसदमा छिर्न जुक्ति लगाउँदै जसपा अध्यक्ष यादव

काठमाडौं, ६ माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो समय संसदमा छिर्न अर्को जुक्ति लगाउन थालेका छन् ।
उनले आफ्नो पार्टीबाट निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाउन खोजिरहेका छन् । बारा–२ बाट निर्वाचित यादवलाई उपराष्ट्रपति बनाउन सकेको खण्डमा आफूले त्यहाँ उपनिर्वाचनमा साझा उम्मेदवार बन्न पाउने र जित निकाल्ने विश्वासका साथ योजना बनाएर उपेन्द्र यादव अगाडि बढेका छन् ।
उपेन्द्र यादवको जनता समाजवादी पार्टीले बिहीबार भएको सभामुखको निर्वाचनमा त्यसैले अहिलेको सत्ता गठबन्धनका साझा उम्मेदवार देवराज घिमिरेलाई मत दिएको उनीनिकट एक नेताले दाबी गरे ।
बुधबार उनको दलको सन्देश लिएर नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा पुगेका थिए, रामसहाय यादव । कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेपछि यादव आफ्नो दलको समर्थन हुने भन्दै त्यहाँ पुगेका थिए ।
तर, बिहीबार यो दलले फेरि घिमिरेलाई नै मत दिने निर्णय गर्यो । उपेन्द्र यादवले रामसहायलाई उपराष्ट्रपति बनाउन पाए बारा–२ मा हुने उपनिर्वाचनमा अहिलेको सत्ता साझेदार दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी सबैको साझा उम्मेदवार आफू बन्ने योजना बनाएका हुन् ।
सभामुखमा कांग्रेसबाट उम्मेदवार बनेकी ईश्वरी न्यौपानेलाई समर्थन गर्दा पनि उनले उपराष्ट्रपतिमा कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मिलेको खण्डमा रामसहायलाई अगाडि सार्नु पर्ने उनले सर्त राखेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


