शहिद तथा घाइते परिवार मधेस सरकारको रबैयाबाट दुःखी

जनकपुरधाम, ५ माघ । मधेस प्रदेश सरकारको अगुवाई गरिरहेका जनता समाजवादी पार्टी नेपालले आन्दोलनका शहिद परिवार र घाइतेलाई अपमान गरेको आरोप लागेको छ ।
मधेस आन्दोलनका घाइते तथा शहिद परिवारहरु प्रदेश सरकारको रवैयाबाट दुःखी हुँदै असन्तुष्टी जनाउँदै आएको छ । प्रदेश सरकारले अपमान गरेको भन्दै शहिद परिवार तथा घाइतेहरु आन्दोलित हुँदै बिहीबार विनाविभागीय मन्त्री संजयकुमार यादवलाई घेराउ गरेका थिए । कार्यक्रमस्थलको मुख्यद्वारमै बसेर धर्ना दिएपछि मन्त्री यादवलाई कार्यक्रम हलमा प्रवेश गर्न हम्मेहम्मे परेको थियो ।
मधेस सरकारको गृह तथा सञ्चार मन्त्रालय मातहतको मधेशी शहिद प्रतिष्ठानले आयोजना गरेको वलिदानी दिवसको कार्यक्रमस्थलमा आन्दोलनका घाइतेहरुले घेराउ गरेका थिए ।
कार्यक्रममा ६१ जना शहिद परिवार र एकजना मात्र आन्दोलनका घाइतेलाई २/२ लाख रुपैयाँ राहत वितरण भइरहेको खबर पाएपछि घाइतेहरुले असन्तुष्टि जनाउँदै घेराउ गरेका थिए ।

उनीहरुले मधेस सरकारले मधेशी शहिद प्रतिष्ठान गठन गरि शहिद परिवारका लागि मात्र राहतका योजनाहरु ल्याएको भन्दै आन्दोलनका घाइतेहरुले समेत राहत पाउनुपर्ने माग गरे ।
विभिन्न आश्वासन दिएपछि त्यसको करिब एक घण्टापछि मात्रै आन्दोलनकारीहरुले मन्त्री यादवलाई हलभित्र प्रवेश गर्न दिएका थिए ।मधेस आन्दोलनका प्रथम शहीद रमेश महतोले शहादत प्राप्त गरेको १६ वर्ष बितिसकेको अवस्थामा मधेस प्रदेश सरकार गठन भएदेखि माघ ५ लाई बलिदानी दिवसको रुपमा विविध कार्यक्रम गरि मनाउँदै आएको छ । र, प्रत्येक वर्ष शहिद परिवारजनलाई करारमा जागिर, जनही भैंसीदेखि दुई लाख रुपैयाँ र कम्बललगायत अत्यावश्यक सामग्रीसहित सम्मान गर्दै आएको छ । तर, जागिर भने कागजमै सिमित रहेको शहिद परिवारको आरोप छ ।

मधेस आन्दोलनको एजेण्डा र उपलब्धीको रक्षा तथा सत्ता र सरकारमा गएपछि सत्ता भत्ता तथा आफन्तजनमै रमाएपछि मधेस आन्दोलनको एजेण्डा नै मधेस केन्द्रित दलहरुले विर्सेको देखिन्छ ।
आत्मनिर्णयको अधिकार, एक मधेस एक प्रदेश र पूर्ण समानुपातिक जस्ता मुख्य एजेण्डालाई विर्सेर मधेस केन्द्रित दलहरु अहिले सत्ता र सरकार जोगाउने खेलमा लागेको र २२ जिल्लाई मधेस भन्दै आएपनि अहिले ८ जिल्लामै सिमित भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


