बुटवल, ५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री गिरीले प्रदेशसभाको बिहीबारको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए ।

उनको प्रस्तावको पक्षमा प्रदेशसभामा ५७ मत प्राप्त भयो । यस्तै, विपक्षमा २८ मत प¥यो। प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक थियो ।

लुम्बिनी प्रदेश सभामा हाल ८७ जना प्रदेशसभा सदस्य छन् । बिहीबारको बैठकमा सभामुखबाहेक ८५ जना उपस्थित थिए ।

मुख्यमन्त्री गिरीलाई एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत र लोसपाका सांसदले समर्थन गरेका थिए ।

नेकपा एमाले प्रदेश संसदीय दलका नेता रहेका गिरी पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।