काठमाडौं, ५ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले विधि र पद्धतिअनुसार काम गरिरहेको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी पनि सदनमा उपस्थित भएको बताएपछि गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

उनले गृह मन्त्रालय कुनै दबाब र प्रलोभनमा काम नगर्ने पनि दाबी गरे । कर्मचारी सरुवाबढुवा र कानुनी शासनको पालनामा कुनै कसर बाँकी नराख्ने पनि गृहमन्त्री लामिछानेको भनाइ छ ।

प्रहरीको फरार सूचीमा रहेका ४ मंसिरमा महोत्तरी–१ बाट निर्वाचित कोइरीले ७ पुसमा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए । उनले २६ पुसमा संघीय संसदमा गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत पनि दिएका थिए ।

कोइरी मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् ।