काठमाडौं, ५ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका सांसद देवराज घिमिरे सभामुख पदका लागि सक्षम उम्मेदवार भएको बताएका छन् ।

बिहीबार नेता सुवासचन्द्र नेम्बाङले ‘देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस्’ भनी राखेको प्रस्तावको समर्थन गर्दै मन्त्री लामिछानलेले घिमिरे सभामुखका लागि सक्षम उम्मेदवार भएको बताएका हुन् । उनले घिमिरेको गौरवमय राजनीतिक इतिहास रहेको दाबी पनि गरे ।

उनले नयाँ सभामुखले दलको स्वार्थमा नभइ आम नागरिकको चासोलाई ध्यानमा राखेर काम गर्नेमा विश्वस्त रहेको पनि उल्लेख गरे ।

‘हाम्रो सबैको हातमा मतदानमार्फत यो देशको भविष्य सुम्पिएका छन् । हामीलाई विश्वास गरेका छन् । कुनै दलको स्वार्थमा होइन आम नागरिकको चासोलाई ध्यानमा राखेर काम गर्नुपर्नेछ भन्ने आशा छ । विगतमा आमसरोकारका विषयमा विगतमा चुके पनि अब भने लाभहानिको हिसाब गरिनेछैन भन्ने लाग्छ,’ लामिछानेले भने ।