प्रथम मधेस आन्दोलनको आज १६ वर्ष पूरा, प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम, ५ माघ । प्रथम मधेस आन्दोलनको आज १६ वर्ष पूरा भएको छ । स्वायत्त मधेस एक प्रदेश र अधिकार प्राप्तिका लागि आज भन्दा ठीक १६ वर्ष अगाडी मधेसी जनताले आन्दोलनको विगुल फुकेका थिए । जुन आन्दोलन १९ दिनसम्म चलेको थियो ।
आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए ।
मधेसमा अधिकारका लागि पटक पटक गरी तीन पटक आन्दोलन भयो । तीनवटै मधेस आन्दोलनमा गरी जम्मा १०३ जनाले शहादत प्राप्त गरे । मधेस आन्दोलनकै बलमा प्रदेशको नामाकरण मधेश प्रदेश भएको छ ।
यद्यपि आन्दोलन जति पुराने हुँदै गयो, आन्दोलनको विरासत पनि कमजोर हुँदै गएको आरोप समेत लाग्दै आइरहेको छ । तर, मधेस आन्दोलनको सम्झनालाई ताजा राख्नका लागि प्रत्येक वर्ष यो दिनलाई बलिदानी दिवसको रुपमा मनाइदै आएको छ ।
सोही अवसर पारेर मधेस केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउँदै आएको छ ।
२०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाए र प्रहरीले उनलाई पक्राउ गरेपछि आन्दोलन सुरु भएको थियो ।
आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतो पहिलो शहीद भए ।त्यसपछि मधेसभर आन्दोलन चर्किएको थियो ।
बलिदानी दिवसको अवसरमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


