जनकपुरधाम, ३ माघ । आइतबार पोखरामा यती एअरलाइन्सको विमान दुर्घटनामा परी प्रेस सेन्टर नेपालका उपाध्यक्ष, गण्डकी प्रदेश इन्चार्ज तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेललगायतको निधन भएको शोकमा जनकपुरधाममा दीप पज्वलन गरिएको छ ।

मंगलबार जनकपुरधामको स्थानीय जनक चोकमा प्रेस सेन्टर नेपाल मधेस प्रदेश समितिको आयोजन तथा प्रेस सेन्टर नेपाल धनुषा शाखाको संयोजनमा दीप प्रज्वलन गरिएको हो ।

पत्रकार पौडेलसहित अन्य ७१ जनाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै एक मिनेटसम्म मौन धारणसमेत गरियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेल नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा थिए । त्यसकै निम्ति काठमाडौं गएर पोखरा फर्कने क्रममा विमान दुर्घटना परेका थिए ।

पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य थिए ।

पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत हुन् । उनले कृष्णबहादुर महारा अर्थमन्त्री हुँदा प्रेस संयोजक भएर पनि काम गरेका थिए ।

२०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको अध्यक्ष भएका पौडेलले त्यसअघि पत्रकार महासंघ कास्की शाखाको उपाध्यक्ष र दुई पटक सचिव भएर काम गरेका थिए ।

पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रूपमा काम गरेका थिए ।