जनकपुरधाम, ३ माघ । मधेस प्रदेशमा सत्तारूढ गठबन्धनका रामचन्द्र मण्डल सभामुखमा निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार मण्डलले मंगलबार दिउँसो भएको मतदानबाट सभामुखमा निर्वाचित भएका हुन् । उनी धनुषा–१ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

कुल १०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशसभामा मंगलबार भएको मतदानमा १०३ मत खसेको थियो । जसमा मण्डलले ७४ मत प्राप्त गरेका हुन् । उनको विपक्षमा भने २९ मत परेको थियो ।

प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले प्रस्तावको पक्षमा ७४ र विपक्षमा २९ मत खसेको सदनलाई जानकारी दिए । १०७ सदस्यीय मधेस प्रदेशसभामा २ जना सांसद अनुपस्थित रहे ।

मधेस प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका ७ सांसद छन् । त्यस्तै, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका पनि एक/एक जना सांसद छन् ।

यहाँ माओवादीका ९ जना प्रदेशसभा सदस्य भएपनि दुईजनाको शपथ रोकिएको छ । मधेस प्रदेशसभामा ५ जना स्वतन्त्र सांसद पनि निर्वाचित भएका छन् ।

सभामुख मण्डललाई नेपाली कांग्रेसका २२ र नेकपा एकीकृत समाजवादीका ७ गरी २९ जना सांसदले मत दिएनन् ।