जनकपुरधाम, ३ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार मुख्यमन्त्री यादवले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मधेस प्रदेशसभामा लोसपाका पनि ९ जना सांसद छन् । लोसपाले पनि सरकारलाई समर्थन गरेसँगै मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाएका हुन् । मुख्यमन्त्री यादवलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादीका ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १, स्वतन्त्र सांसदद्वय अनिरुद्ध सिंह र सुरिता साहले समर्थन गरेका छन् ।

यहाँ माओवादीका ९ सांसद भएपनि २ जनाको शपथ रोकिएको छ । मधेस प्रदेशमा १० मन्त्रालय छन् । प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् । मधेसमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेका छैनन् ।

त्यस्तै, आजै सभामुख चयनका लागि पनि मतदान हुँदैछ । सभामुखका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसको तर्फबाट जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका मण्डल धनुषा १(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् भने कांग्रेसका राय सर्लाही २(क) बाट निर्वाचित भएका हुन् ।