काठमाडौं, २ माघ । सोमबार राति सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा टुंगिएको छ ।

मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने र १ बजे सपथ हुने तय भएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका हुन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको उनले बताए । त्यसअघि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

‘कुन पार्टीले कुन कुन मन्त्रालय लिने भन्ने तय गर्यौं । मंगलबार मन्त्रीसहित सार्वजनिक गर्ने छौं,’ गृहमन्त्री लामिछानले भने, ‘यहाँ भएको सहमतिबारे आ-आफ्नो पार्टीमा छलफल गर्छौं र दिउँसो १ बजे भन्दा अगाडि परिर्वतन पनि हुनसक्छ ।’

स्रोतका अनुसार सत्ता गठबन्धनको सबभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने छ भने माओवादी केन्द्रले ४ मन्त्रालय लिँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले ३/३ वटा मन्त्रालय पाउने भएको छ । रास्वपा र राप्रपाले एकएक राज्यमन्त्री पनि पाउनेछन् ।

जसपा, नागरिक उन्मुक्ति, लोसपा लगायतका दललाई पनि सरकारमा सहभागी गराउने प्रयास भएपनि उनीहरुको डिमान्डले गर्दा दलहरुबीच सहमति जुट्न नसकेको बुझिएको छ ।

शपथ ग्रहणपछि मंगलबार दिउँसो ४ बजे सर्वदलीय बैठक बस्ने बताइएको छ ।