जनकपुरधाम, २ माघ । विगत लामो समयदेखि बन्द रहेको धनुषाको नगराइन नगरपालिका अब खुल्ने भएको छ ।

सोमबार सर्वदलीय बैठक बसेर माघ २० गतेभित्र नगरसभा गर्ने सहमति भएसँगै सो नगरपालिकाको कामकाज सुचारु हुने भएको हो ।

सोमबार नगराइन नगरपालिकामा उत्पन्न समस्या समाधान गर्न बसेको सर्वदलीय बैठकले माघ २० गतेभित्र नगरसभा गर्ने सहमति गरेको छ ।

नगरप्रमुख विनयकुमार यादव, उपप्रमुख राधा देवी यादव, प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्ण, नेपाल तरुण दलका धनुषा जिल्ला सदस्य सोनु निधिलगायत विभिन्न राजनीतिक दलका अध्यक्ष, प्रतिनिधि तथा नागरिक समाजको उपस्थितीमा बसेको बैठकले यस्तो सहमति गरेको प्रमुख प्रशासकीय अधिकृत कर्णले जानकारी दिएका छन् ।

बैठकले नगरपालिकाका विभिन्न योजनाहरुको उपभोक्ता समिति गठन गर्दा स्थानीय उपभोक्ता भए समिति गठन गर्ने र उपभोक्ताबाट समिति गठन भएमा उक्त समिति विघटन गरी पुनः अर्को उपभोक्ता समिति गठन गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, वडास्तरीय योजना वडा कार्यालयबाट सञ्चालन गर्ने र नगरस्तरीय योजना सञ्चालन नगरप्रमुख र उपप्रमुखले सञ्चालन गर्ने तथा नगरस्तरीय योजना सञ्चालनका लागि आ–आफ्नो कार्यपालिका सदस्य वा कार्यालय प्रतिनिधिबाट मात्र सञ्चालन गर्ने निर्णय गरिएको बताइएको छ ।