जनकपुरधाम, २ माघ । आइतबार पोखरामा भएको यती एअरलाइन्सको एटीआर–७२ विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न सोमबार जनकपुरधाममा दीप प्रज्वलन गरिएको छ ।

सोमबार साँझ विभिन्न समूहहरुले जनकपुरधामका विभिन्न स्थानहरुमा मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्वलन गरेका हुन् ।

लायन्स क्लब अफ जनकपुरधाम, लियो क्लब अफ जनकपुरधाम, लोकतान्त्रिक विद्यार्थी संघ जनकपुरधाम नगर कार्यसमिति र जिरोमाईल समाजले मृतात्माहरुको चिरशान्तिको कामना गर्दै आज साँझ दीप प्रज्वलन गरेका छन् ।

लायन्स क्लब अफ जनकपुरधाम र लियो क्लब अफ जनकपुरधामले स्थानीय रेल्वे स्टेशनमा, लोकतान्त्रिक विद्यार्थी संघ जनकपुरधाम नगर कार्यसमितिले स्थानीय जानकी मन्दिरमा र जिरोमाईल समाजले स्थानीय जिरोमाईल चोकमा दीप प्रज्वलन गरेका हुन् ।

विमान दुर्घटनाको शोकमा नेपाल सरकारले सोमबार सार्वजनिक बिदा दिएकोमा दीप प्रज्वलनमा सहभागीहरुले असन्तुष्टि जनाएका थिए । उनीहरुले सार्वजनिक बिदा दिनुभन्दा थोत्रा जहाजहरु हटाउनुपर्ने माग गरेका थिए ।

त्यस्तै, नेबिसंघ, जनमत तथा चिकित्सक संघले पनि स्थानीय जनक चोकमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली सभा मनाएका छन् ।

आइतबार पोखरामा भएको यती एअरलाइन्सको ‘एन–एएनसी’ विमान दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ । ३ जना अझै बेपत्ता छन् ।