बारामा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु

बारा, २ माघ । बारामा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–१ बैरिया बस्ने २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय तहिद अन्सारी रहेका छन् ।
उनीहरु दुवैजनाको शव खोजतलासको क्रममा थलही खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
दुर्घटनामा बैरियाकै २२ वर्षीय गुड्डु अंसारी सामान्य घाइते छन् । शरीरमा सामान्य चोट मात्रै रहेकोले उनी घरमा नै आराम गरिरहेको प्रहरीले जनाएको छ । उनीहरु तीनैजना एउटै मोटरसाइकलमा सवार थिए ।
आइतबार राति ९ बजे महागढीमाई नगरपालिका–९ थलही पुलमा गढीमाईबाट श्रीनगरतर्फ जाँदै गरेको ना.२६ प.२२९५ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई पुल मुनी खसेको थियो । मोटरसाइकलमा तीनजना सवार थिए ।
दुर्घटनामा परी घाइते भएका गुड्डुले नै घरमा आफन्तलाई मोटरसाइकल दुर्घटना भएको जानकारी गराएका थिए । दुर्घटनाको बारेमा सोमबार बिहान २ बजे मात्रै खबर पाएको प्रहरीले जनाएको छ । प्रहरी टोली पुग्दा मोटरसाइकल थलही खोलामा नै भेटिएको थियो ।
कासिम र ताही भेटिएका थिएनन् । खोजतलासको क्रममा कासिमलाई बिहान ९ बजे घटना स्थल भन्दा २ किलोमिटर दक्षिणतर्फ खोला किनारमा घोप्टो परेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी तहिदको शव दिउँसो १२ः ५० बजे पुलभन्दा १ सय मिटर दक्षिण तर्फ खोलाको मध्य भागमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


