एजेन्सी, २ माघ । अफगानिस्तानमा एकजना पूर्वसांसदको गोली हानी हत्या गरिएको छ । आक्रमणमा पूर्वसांसद ३२ वर्षीया मरसल नविजादाको हत्या भएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार काबुलस्थित आफ्नै घरमा उनलाई अज्ञात समूहले गोली हानेको हो । आक्रमणमा नविजादाका सुरक्षा गार्ड पनि मारिएका छन् । त्यस्तै, उनका भाइ घाइते भएका छन् ।

सन् २०२१ को अगस्टमा तालिबानले सत्ता कब्जा गर्नुअघिसम्म नविजादा अफगानिस्तानकी सांसद थिइन् । अमेरिकी सैनिक फिर्ता र तालिबानद्वारा काबुल कब्जा भएपछि धेरै राजनीतिज्ञले अफगानिस्तान छोडेका थिए । नविजादा भने स्वदेशमै बसिरहेकी थिइन् ।

उनी सन् २०१८ मा काबुलबाट तत्कालीन संसदको तल्लो सदनका लागि निर्वाचित भएकी थिइन् । तालिबानहरू फेरि सत्तामा आएपछि अफगानिस्तानमा महिलाहरूलाई सार्वजनिक जीवनमा निषेध गरिएको छ ।