जनकपुरधाम, १ माघ । सोमबार बस्ने भनिएको मधेस प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।

पोखरामा भएको विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय रूपमा शोक बिदा घोषणा गरिएकोले मधेस प्रदेशसभाको बैठक पनि स्थगित गरिएको प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले जानकारी दिएका हुन् ।

देश शोकको घडिमा रहेकाले प्रदेशसभाको बैठक स्थगित गर्नु परेको उनले बताए ।

सोमबार बस्ने तय गरिएको बैठकबाट सभामुख पदका लागि निर्वाचन गर्नुका साथै मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने निर्धारित तालिका थियो ।

अब मंगलबार मात्रै प्रदेशसभा बैठक बस्ने न्यौपानेले जानकारी दिए ।

मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची तय गरिएको छ । यसका साथै मंगलबार नै सभामुखको निर्वाचन समेत हुनेछ ।