जनकपुरधाम, १ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार विश्वासको मत लिने भएका छन् ।

बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले सोमबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको हो ।

६३ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका यादवको पक्षमा ७३ सांसद देखिएका छन् । उनी मुख्यमन्त्री नियुक्त हुँदा लोसपा सरकारमा सामेल हुने टुङ्गो लागेको थिएन । तर, अहिले लोसपा समेत सरकारमा सहभागी भई मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ ।

प्रदेशसभामा नेकपा एमालेका २४, जसपाका १६, जनमतका १३, लोसपाका ९, माओवादी केन्द्रका ७, राप्रपाका १, नेपाल संघीय समाजवादीका १ र स्वतन्त्र २ गरी कुल ७३ जना सांसद सत्तापक्षमा छन् । विपक्षमा नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्तिका १ र स्वतन्त्र २ गरी ३२ जना देखिएका छन् ।

बारा २(१) बाट निर्वाचित स्वतन्त्र सांसद शारदा शंकर कलवार नेकपा एमालेमा प्रवेश गरिसकेका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिइसकेपछि मन्त्रिमण्डल विस्तार गर्ने जनाइएको छ ।