पोखरा विमान दुर्घटनाको शोकमा सोमबार सार्वजनिक बिदा

काठमाडौं, १ माघ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा परेकाहरूप्रति शोक मनाउन सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उक्त आकस्मिक बैठकको निर्णय सुनाउँदै भने, ‘घटनाप्रति सरकार गहिरो दुःख व्यक्त गर्दछ । दिवंगतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । शोकपूर्ण घटनाका सन्दर्भमा माघ २ गते शोक मनाउने र सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।’
त्यस्तै मन्त्रिपरिषद्को बैठकले उक्त घटनाको कारण जाँचबुझ गर्नका लागि ५ सदस्यीय समिति पनि गठन गरेको छ । दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।
त्यस्तै घटनाको बारेमा जानकारी लिन चाहने परिवार, आफन्त र सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने सरकारले निर्णय गरेको छ । उपप्रधानमन्त्री पौडेलका अनुसार विमान दुर्घटनामा परेकाहरुको पार्थिव शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान पनि सरकारले सहजीकरण गर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


