मधेसका बिना विभागीय मन्त्रीहरुको मन्त्रालय टुंगो लाग्न बाँकी, क्वाटर कब्जा गरी कार्यकर्ताको बधाई थाप्दै

जनकपुरधाम, ३० पुस । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले तीनजना बिना विभागीय मन्त्रीहरुसँग शुक्रबार पद तथा गोपनीयताको शपथ लिए ।
सत्तारुढ दलहरुबीच मन्त्रालय भागबण्डामा बिहीबार अबेर रातिसम्म सहमति नजुटेपछि शुक्रबार नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टी नेपालका संजय यादव र जनमत पार्टीका बसन्त कुशवाहालाई बिना विभागीय मन्त्रीको जिम्मेवारी तोकेर मुख्यमन्त्री यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रसँग पद तथा गोपनीयताको शपथ लिए ।
मुख्यमन्त्री यादवले प्रदेश सरकारका दशवटै मन्त्रालय आफू मातहत राखेर शपथ लिएका थिए । मन्त्रीहरु सरोज यादव, संजय यादव र बसन्त कुशवाहालाई मन्त्रालयको जिम्मेवारी तोकिएको छैन् । मुख्यमन्त्री यादवले माघ २ गते विश्वासको मत लिएपछि मात्र मन्त्रीपरिषद् विस्तार गर्ने र नवनियुक्त मन्त्रीहरुलाई पनि मन्त्रालयको जिम्मेवारी तोकिने बताइएको छ ।
यता, नवनियुक्त मन्त्रीहरुले मन्त्रालयको जिम्मेवारी नपाएपनि शपथ ग्रहण गरेसँगै मन्त्री क्वाटरमा सरेका छन् । मन्त्रीहरु सरोजकुमार यादव र बसन्त कुशवाहा क्वाटरमा सरेका हुन् भने मन्त्री संजय यादव भने पुस महिना भएकोले अहिले क्वाटरमा सरेका छैनन् । उनी सम्भवत आइतबार अर्थमन्त्रालयको क्वाटरमा सर्ने भएका छन् ।
मन्त्रीद्वय सरोज भौतिक पूर्वाधार तथा विकास मन्त्रालय र बसन्त कुशवाहा सामाजिक विकास मन्त्रालयको मन्त्रीले पाउने सरकारी क्वाटरमा शुक्रबार साँझ नै सरेका छन् । उनीहरुलाई बधाई दिन नेता कार्यकर्ता तथा शुभेच्छुकहरु क्वाटरमै पुग्ने गरेका छन् ।
जबकि ती मन्त्रीहरुलाई कुन मन्त्रालय दिनेबारे अहलेसम्म कुनै सहमति नै भएको छैन् । मुख्यमन्त्री यादवले विश्वासको मत पाएपछि मात्र मन्त्रालयबारे टुंगो लाग्ने बताइएको छ ।
यता, मुख्यमन्त्री र नवनियुक्त मन्त्रीहरुबीच मन्त्रालयबारे आपसि सहमति भइसकेकोले उनीहरु क्वाटरमा सरेको स्रोतले जनाएको छ ।
त्यस्तै, निवर्तमान गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पनि मन्त्रालयबाट विदाबारी लिइसक्दासमेत सरकारी गाडीको प्रयोग भने अझै गरिरहेको देखिएको छ । शनिबार सभामुख पदका लागि नेकपा एमालेका रामचन्द्र मण्डलले उम्मेदवारी दर्ता गराउन जाँदा उनको प्रस्तावक बनेका साह सरकारी गाडीकै प्रयोग गरेको देखिएको थियो ।
साहले मन्त्रालयको ५ वटा सरकारी गाडी आफ्नो घर प्रयोजनका निमित्त प्रयोग गर्दै आएको र मन्त्रालयबाट यस आर्थिक बर्षमा ४० लाख बराबरको इन्धनसमेत खर्च गरेको आरोप लागेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


