सर्लाही, ३० पुस । सर्लाहीमा बिग्रिएर रोकिराखेको उखु बोकेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

बागमती नगरपालिका–२, धरहरामा रोकिराखेको ना ५ ख ७५६४ नम्बरको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गोडैता नगरपालिका–४ का ३२ वर्षीय विश्वजित हजराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हजराले चलाएको बागमती प्रदेश ०३–००४ प १५९२ नम्बरको मोटरसाइकल ट्रकसँग ठोक्किँदा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

इन्दुशङ्कर चिनी उद्योग हरिवनतर्फ उखु लिएर आउँदै गरेको ट्रकको टायर पम्चर भएपछि रोकेर राखिएको थियो ।

दुर्घटनामा संलग्न ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार भएका छन् ।