जनकपुरधाम, ३० पुस । मधेस प्रदेशको सभामुखका लागि दुईजना प्रदेशसभा सदस्यले उम्मेदवारी दर्ता गराएका छन् ।

सभामुखका लागि नेकपा एमालेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र नेपाली कांग्रेसबाट जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका मण्डल धनुषा १(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् भने कांग्रेसका राय सर्लाही २(क) बाट निर्वाचित भएका हुन् ।

मण्डलको प्रस्तावकमा माओवादी केन्द्रको संसदीय दलका नेता भरत साह, समर्थकमा जनमतको संसदीय दलका नेता महेश प्रसाद यादव, लोसपाकी रानी शर्मा तिवारी, जसपाका रामअशिष यादव र नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादव रहेका छन् भने कांग्रेसका उम्मेदवार रायको प्रस्तावकमा कुमरकान्त झा र समर्थकमा जिवछी देवी यादव छन् ।

मधेस प्रदेशको सभामुख पदका लागि माघ २ गते निर्वाचन हुनेछ ।