एजेन्सी, २९ पुस । पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको बस विपरीत दिशाबाट आएको सामान बोकेको ट्रकसँग ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने अन्य थुप्रै यात्रु घाइते भएका छन् ।

दुर्घटना महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको नासिक जिल्लाको सिन्नार क्षेत्रमा भएको हो ।

‘आज बिहान यहाँ नासिक–शिर्डी राजमार्गमा वावी पठारे गाउँ नजिकै एउटा मालबाहाक ट्रकसँग बस ठोक्किँदा १० जनाको मृत्यु भएको छ,’ स्थानीय प्रहरी अधिकारीले भनेका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ७ महिला र दुई बालबालिका रहेका छन् । निजी लक्जरी बस ठाणे जिल्लाको अम्बरनाथबाट अहमदनगर जिल्लाको शिरडीको मन्दिरतर्फ गइरहेको थियो ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहत दिने घोषणा गरेका छन् ।