लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि सरकारमा सहभागी हुने

काठमाडौं, २९ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि सहभागी हुने भएको छ ।
यस विषयमा प्रधामन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी समेत गरिसकेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतसमेत दिएको लोसपाले सरकारमा सहभागी हुनका लागि दुईवटा मन्त्रालय माग गरेको छ । तर, लोसपालाई एउटा मन्त्रालय दिने सत्ता गठबन्धनको तयारी छ ।
सरकारमा जानुअघि लोसपाले सरकारसँग केही विषयमा सम्झौता गर्न चाहेको छ । त्यसमा प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओली पनि तयार रहेको ती नेताको भनाइ छ ।
गठबन्धनमा मन्त्रालयको बारेमा टुङ्गो लागेपछि लोसपासँग सरकारले कुराकानी गर्ने बताइएको छ । लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले आफूहरु सरकारमा जान तयार रहेको तर त्यसका लागि सरकार पनि तयार हुनुपर्ने बताए ।
सरकारलाई विश्वासको मत दिने बेला पनि केही विषयमा कुराकानी भएको थियो । लोसपाले उठाउँदै आएका केही विषय न्यूनतम साझा कार्यक्रममा समावेश गरे पनि केही विषय सम्बोधन हुन बाँकी छन् । ती विषयमा कुरा मिलेपछि सरकारमा जाने लोसपाको तयारी छ ।
लोसपा मधेस प्रदेश सरकारमा पनि सहभागी हुने बताइएको छ । केन्द्रमा सहभागी हुने भएपछि मधेस सरकारको बारेमा पनि छलफल गरेर टुङ्ग्याउने भण्डारीले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


