पोखरा, २९ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । प्रदेश सभाको आज बसेको बैठकमा अधिकारीले विश्वासको मत मागेका थिए ।

उनले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।

मुख्यमन्त्री अधिकारीलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका सांसदले विश्वासको मत दिएका हुन् । उनलाई नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८ र राप्रपाका २ जना गरि ३१ सांसदले विश्वासको मत दिएका हुन् ।

गण्डकी प्रदेशमा नेकपा एमालेका २२ जना सांसद रहेका छन् । तर, ज्येष्ठ सदस्यको हैसियतमा सभा सन्चालन गरेका एमाले सांसद मित्रलाल बस्याल मतदानमा सहभागी भएनन् ।

६० सदस्य रहेको प्र्रदेश सभामा विश्वासको मतका लागि अधिकारीलाई ३१ मत आवश्यक थियो ।

त्यहाँको विश्वासको मतको विपक्षमा २७ सिटसहित सबभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ ।

अधिकारी २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी मुख्यमन्त्रीमा नियुक्त हुँदा उनलाई समर्थन गरेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे भने आजको प्रदेशसभा बैठकमा उपस्थित नै भएनन् ।