काठमाडौं, २९ पुस । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने कारागारबाट रिहा भएका छन् ।

बिहीबार पाटन उच्च अदालतले गरेको फैसलाअनुसार उनी २० लाख धरौटी बुझाएर आज कारागारबाट रिहा भएका हुन् ।

उनलाई तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौं लगिएको र त्यहाँबाट तारिख बुझेर उनी रिहा भएका छन् ।

विभिन्न सर्त राखेर सन्दीपलाई रिहा गर्न बिहीबार अदालतले आदेश दिएको थियो ।

अदालतको यो आदेशपछि उनका कानुन व्यवसायीले उनले तत्काल नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी गर्न पाउनु पर्ने तर्क गरेका छन् ।