काठमाडौं, २८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक भ्रष्टाचार अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतले बिहीबार उनलाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका प्रमुख श्रीकान्त पौडेल, न्यायाधीशहरु यमुना भट्टराई, बलभद्र बाँस्तोलाको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

घुस लिएको अभियोगमा अख्तियारले आयुक्त पाठकविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो । उनलाई ३९ लाख रुपैयाँ जरिवाना तोकिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिएका छन् ।

अदालतले उनीसँगै घुस काण्डमा जोडिएका लम्बोदर न्यौपानेलाई पनि दोषी ठहर गर्दै ३९ लाख जरिवाना र तीनवर्ष कैद सजाय सुनाएको छ ।