मधेस प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार शपथ लिंदै, चार दलबाट एक/एक जना मन्त्री बन्ने सम्भावना

जनकपुरधाम, २८ पुस । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिंदैछन् ।
बुधबार मुख्यमन्त्री नियुक्त भएका यादवले शुक्रबार मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १२ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।मुख्यमन्त्रीसँगै सत्ता साझेदार दलहरुलाई समेटेर शुक्रबार नै सानो आकारको मन्त्रीमण्डल गठन हुने जसपाका एक सांसदले जानकारी दिए ।
पहिलो चरणमा सबै दलबाट एक/एक जनाले शपथ लिने र विश्वासको मत प्राप्त गरेपछि मन्त्रीपरिषद विस्तार हुनेसमेत बताइएको छ ।शुक्रबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र जसपाबाट एक/एक जना मन्त्री बन्न लागेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार एमालेले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, नेकपा माओवादी केन्द्रले उद्योग, पर्यटन तथा वन मन्त्रालय, जसपाले सामाजिक विकास मन्त्रालय र जनमतले भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने सहमति भएको हो ।
‘शुक्रबार मुख्यमन्त्रीसहित एमाले, माओवादी केन्द्र, जनमत र जसपाका एक–एकजना मन्त्रीले शपथ लिनुहुन्छ,’ उनले भने, ‘यसपछि मन्त्रीमण्डलको विस्तार सम्भवतः विश्वासको मत लिएपछि हुन्छ होला ।’
मधेसमा नेकपा एमालेसहित जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र दुईजना स्वतन्त्र सांसद सत्ता साझेदार छन् ।
मुख्यमन्त्री यादवलाई आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १–१ तथा २ जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ६३ प्रदेश सांसदको समर्थन छ ।
मधेस प्रदेशमा १० वटा मन्त्रालय छन् । प्रदेशमा जसपा र जनमत आधा कार्यकाल सत्ताको नेतृत्व गर्ने सहमति गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


