सुर्खेत, २७ पुस । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीका लागि दाबी गर्न दलहरुलाई आह्वान गरेका थिए ।सोहीबमोजिम नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादीसहितको समर्थनमा शर्माले मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।

कर्णाली प्रदेशमा माओवादीका १३, एमालेका १०, राप्रपाका १ र समाजवादीका १ जना प्रदेशसभा सदस्य रहेका छन् । कुल ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ सिट आवश्यक हुन्छ । जसअनुसार माओवादी, एमाले, राप्रपा र समाजवादी गरी २५ सांसदको समर्थन रहेको छ । राप्रपाले एक मन्त्रालय दाबीसहित मुख्यमन्त्रीमा समर्थन गरेको हो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमतिअनुसार एमालेले शर्मालाई मुख्यमन्त्रीका लागि समर्थन गरेको हो ।