काठमाडौं, २७ पुस । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब मुलुकमा सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ युगको थालनी गर्नुपर्ने बताएका छन् ।

माओवादीको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक समृद्धिलाई आफूले सपनाका रुपमा लिएको र वर्तमान सरकारले त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘मैले यसलाई संकल्प र प्रतिबद्धताका रुपमा लिएको छु, एउटा प्रधानमन्त्रीले चाहेर मात्र पनि हुँदैन, समृद्धिको यात्रा हासिल गर्न विभिन्न जनसंगठनले साथ दिनुपर्छ,’ उनले भने, ‘सरकार र पार्टीलाई यो चुनौतीपूर्ण अवसरलाई सफल पार्न तपाइँहरुले संस्थागत रुपले पहलकदमी गर्नुपर्नेछ ।’

सरकारको नेतृत्वका रुपमा पाएको यो अवसरलाई सदुपयोग गर्नुपर्नेमा आफू सचेत रहेको जनाउँदै उनले वर्तमान सरकारले चुनौतीलाई चिर्न सफल हुने बताए ।