काठमाडौं, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मंगलबार भएको मतदानमा प्रतिनिधि सभाबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका हुन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा भएको मतदानपछि विश्वासको मतको प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २६८ मत परेको सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले घोषणा गरे ।

२७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्नेमा २६८ सांसदको समर्थन पाएका हुन् ।संसदमा उपस्थित २७० मध्ये २६८ जना प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा मत दिएका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले एक महिना अगावै विश्वासको मत लिएका हुन् ।

मिलिजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रचण्डले विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिएनन् ।