जनकपुरधाम, २४ पुस । आइतबारदेखि जनकपुरधाम र विराटनगरबाट पनि श्रम स्वीकृति दिन सुरु गरिएको छ ।

विराटनगर र जनकपुरधामको श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गरिएको हो ।

यसअघि यी कार्यालयबाट पुनः श्रम स्वीकृति मात्रै हुँदै आएको थियो । श्रम तथा रोजगार कार्यालय सुर्खेत र धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले ११ पुसमा गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आइतबारदेखि विराटनगर र जनकपुरधामबाट श्रम स्वीकृत दिन सुरु गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।

योसँगै सातवटै प्रदेशबाट सबै खाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।