जनकपुरधाम, २४ पुस । सिरहाको एक निजी विद्यालयमा शिक्षिकाले एकजना छात्रालाई स्प्रिट खुवाईदिएपछि मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् ।

जिल्लाको मिर्चैया नगरपालिका–६ स्थित सगरमाथा माध्यमिक विद्यालयमा अध्ययनरत सिरहा नगरपालिका–११ भलुवाही बस्ने धर्मेन्द्र कुमार महराकी १५ बर्षीया छोरी सिर्जना कुमारी महराको मृत्यु भएको हो ।

कक्षा ८ मा पढने सिर्जनालाई शुक्रबार बिहान पेट दुखेपछि उनले सो कुरा आफ्नो शिक्षिका अम्बिका लम्साललाई सुनाइन् । लम्सालले उनलाई औषधिसँगै पानीको सट्टा स्प्रिट खुवाएको बताइएको छ ।

शिक्षिका लम्सालले पेट दुःखाई निको हुने औषधी भनेर ति छात्रालाई एउटा ट्याब्लेटसँगै कोल्ड ड्रिन्कको बोतलमा राखिएको स्प्रिट पानी सम्झेर खुवाईदिएको बताइएको छ ।

स्प्रिट खाएपछि सिर्जनाको शरिरमा रिएक्सन सुरु भएको थियो । उनी हिँडन नसक्ने अवस्थामा पुगेपछि घर पुयाईएको थियो । अवस्था नाजुक हुन थालेपछि उनलाई कर्जन्हास्थित फूलकुमारी मेमोरियल हस्पिटलमा भर्ना गरियो । त्यहाँ लैजाँदा उनको छातीको फोक्सो सेतो भई आँखाको नानीसमेत स्थिर भइसकेको उपचारमा संलग्न चिकित्सक डा. श्याम साहले बताए ।

उनले स्प्रिटकै रिएक्सन यस्तो हुन नसक्ने र सिर्जनाको शरिरमा विषजन्य पदार्थ गएपनि थप र यथार्थ जानकारी पोष्टमार्टमको रिपोर्टबाट मात्र थाहा हुने बताए ।

यता, परिवारजनले शिक्षिका लम्सालले नै स्प्रिट र गलत औषधी खुवाएर सिर्जनालाई मारेको आरोप लगाएका छन् ।

घटनामा विद्यालय र शिक्षिकाले लापरबाही गरेको भन्दै आइतबार सो विद्यालयका विद्यार्थी र मृतकका आफन्तले आन्दोलन सुरु गरेका छन् ।

उनीहरुले बिहान साढे १० बजेदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरि टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।

लापरबाही गर्ने विद्यालय प्रशासन र शिक्षिकालाई कारबाही गर्नुपर्ने र मृतक छात्राकी परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आन्दोलित विद्यार्थीहरुको माग छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले शिक्षिकाले छात्रालाई पानीको सट्टा स्प्रिट खुवाएपछि मृत्यु भएको खबर प्राप्त भएको र प्रहरीले सो विषयमा अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।