विराटनगर, २४ पुस । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्कीले गठबन्धनको तर्फबाट प्रदेश १ को मुख्यमन्त्रीका लागि दाबी पेस गर्न लागेका छन् ।

उनले आइतबार बहुमत प्रदेशसभाका सदस्यसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका हुन् ।

९३ सदस्यीय प्रदेश १ सभामा वर्तमान सत्ता गठबन्धनको स्पष्ट बहुमत छ । जसमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० जना सांसद छन् ।

सत्ता साझेदार दलहरूसँग बैठक बसेर दिउँसो ४ बजे प्रदेश प्रमुखलाई बहुमत सदस्यसहित मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी रहेको कार्कीले बताए ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले पनि प्रदेश १ को मुख्यमन्त्रीका लागि कार्कीलाई समर्थन गर्ने सहमति भएको बताए । यसअघि प्रदेश १ को मुख्यमन्त्रीका लागि माओवादीले पनि दाबी गरेको थियो ।

मुख्यमन्त्री एमालेबाट बन्ने भएपछि माओवादीले सभामुख पाउने भएको छ । प्रदेश १ मा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी गर्न समयसीमा तोकेका छन् ।