उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाइयो

काठमाडौं, २३ पुस । सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएका हुन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारको न्यूनतम साझा कार्यक्रम शुक्रबार तयार भएपछि शनिबार मस्यौदा बुझाइएको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिएको कार्यदलका एक सदस्य डा. मुकुल ढकालले बताए । न्यूनमत साझा कार्यक्रममा सबै दलका एजेण्डा समेट्ने प्रयास गरिएको ढकालले बताए ।
गत पुस १४ गते बसेको सत्ता गठबन्धन दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम तयार पार्न एमालेका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
कार्यदलमा माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. मुकुल ढकाल , जसपाका रकम चेमजोङ र राप्रपाका धवलशमशेर राणा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


