माओवादी केन्द्रद्वारा महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन

काठमाडौं, २३ पुस । नेकपा माओवादी केन्द्रले विभिन्न वामपन्थी दलरूसँगको एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा महरासहित महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा प्रभाकर, सचिवहरू शक्ति बस्नेत र गिरिराजमणि पोखरेल रहेका छन् ।
शनिबार बिहान एकताका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच बालुवाटारमा छलफल भएको थियो ।
कार्यदलका सदस्य शर्माले भने, ‘कार्यदलले नेसपा मात्र नभएर एकीकृत समाजवादी पार्टी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपा, नेकपा बहुमतलगायत सबै वामपन्थी दलहरूसँग एकताका लागि छलफल गर्नेछ ।’
बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनका लागि सबै दलहरूसँग अपिल गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् । त्यस्तै बैठकले माघ १५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


