काठमाडौं, २३ पुस । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्नु नेपाली स्वाधीनताका लागि महत्वपूर्ण भएको उल्लेख गरेका छन् ।

नेकपा एमालेबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकार निर्माणमा छिमेकी देशले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टिसमेत जनाए ।

‘यो नेपालीले बनाएको सरकार हो । यो परिवर्तनको सन्दर्भमा हामी नेपालीले सरकार बनाएका छौं । नेपालीलाई सरकार बनाउन नदिने चाँजोपाँचजो थियो,’ कार्यक्रममा ओलीले भने ,‘नेपालीले नेपालमा सरकार बनाउन नपाउने, चलाउन नपाउने यस्तो पनि कहीँ हुन्छ? त्यस कोर्सलाई हामीले परिवर्तन गर्यौं । अहिले हामीले नेपालीले सरकार बनाएका छौं ।’

सरकार गठन गर्नु नेपाली स्वाधीनताका लागि महत्वपूर्ण भएको ओलीको भनाइ छ । उनले बाह्य हस्तक्षेपविरुद्ध उठेर सरकार गठन गरेको बताए ।

नेपालको संसदीय प्रक्रिया र कानून तर्जुमाको विषयमा सांसदलाई प्रशिक्षण दिन एमालेले कार्यक्रमको आयोजना गरेको हो । प्रशिक्षणमा दुई दिनसम्म चल्ने छ । प्रशिक्षणमा एमाले नेताहरूसँगै कानूनविद्हरूले कानून तर्जुमाका विषयमा जानकारी दिने छन् ।