जनकपुरधाम, २३ पुस । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार खिचडी सरकार रहेको बताएका छन् ।

शनिवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले यस्तो दाबी गरेका हुन् ।

नेता पाण्डेले संघीयता रुचाउने र नरुचाउने, राजा ल्याउने र फ्याक्ने विचारधाराका दलहरु एकसाथ रहेकाले वर्तमान सरकार खिचडी सरकार रहेको बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने अथवा नदिने विषयमा आफ्नो पार्टीले पुस २६ गते मात्र निर्णय गर्ने बताए ।

पाण्डेले अहिलेसम्म प्रचण्डले व्यक्तिगत रुपमा विश्वासको मत मागेपनि पार्टीगत रुपमा नमागेकाले यस सम्बन्धमा निर्णय गर्न पुस २६ गते बैठक बस्ने बताए ।

पार्टीको मान्यता दिएर चिठ्ठी लेख्ने काम नभएको भन्दै उनले भने, ‘प्रचण्डले व्यक्तिगत रुपमा मलाई सहयोग गर्नुपर्यो भन्नु भएको छ, व्यक्तिगत रुपमा मागेकै आधारमा हामीले विश्वासको मत दिने सहज जस्तो लाग्दैन् ।’

उनले वर्तमान सरकारले ल्याउने नीति तथा कार्यक्रमको आधारमा समेत विश्वासको मत दिने अथवा नदिने प्रभाव पार्ने बताए ।

प्रचण्डलाई विश्वासको मत दिएर बाहिर बस्नसक्ने समेत उनले बताए ।