काठमाडौं, २२ पुस । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । उक्त कार्यक्रम तयार पार्न बनेको कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएको हो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिएको हो । न्यूनतम साझा कार्यक्रम तयार भएको र शनिबार शीर्ष नेताहरू समक्ष पेस गर्ने कार्यदलका एक सदस्य डा. मुकुल ढकालले बताए ।

उनका अनुसार शीर्ष नेताहरुलाई बुझाएपछि भोलि नै कार्यक्रम सार्वजनिक हुनेछ । कार्यदलको बैठकले न्यूनमत साझा कार्यक्रममा सबै दलका एजेण्डा समेट्ने प्रयास गरेको ढकालले बताए ।

गत पुस १४ गते बसेको सत्ता गठबन्धन दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम तयार पार्न एमालेका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलका माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. मुकुल ढकाल , जसपाका रकम चेमजोङ र राप्रपाका धवलशमशेर राणा छन् ।

यसअघि गृहमन्त्री रवि लामिछानले आफूहरूले निर्देशन मात्रै दिएर चर्चा कमाउन नखोजेको भन्दै उनले योजनाबद्ध रूपमा विज्ञसँग समेत छलफल गरिरहेको बताएका थिए । विभिन्न ठाउँमा नागरिकले पाइरहेका दुःख र कष्टलाई समेटर सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने उनको दाबी छ ।