काठमाडौं, २२ पुस । मन्त्रिपरिषद बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने र त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने निर्णय गरेको छ ।

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने भएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पोखरा विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय भएको बताए । १७ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त विमानस्थलको उदघाटन गरेका थिए ।

अर्थमन्त्री पौडेलले कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन आर्थिक सहयोग गर्ने निर्णय भएको बताए । उनले सरकारले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको पनि अर्थमन्त्री पौडेलले जानकारी दिए ।